• २०८१ चैत्र १२ गते बुधवार
  • Preeti To Unicode

सरकार !


  • कविता

एकपटक मलाई प्रयोग गरेर त हेर
मेरो क्षमतालाई अवसर दिएर त हेर
कतारको ६० डिग्री सेन्ट्रिग्रेटको घाममा
अठार घण्टा खटेर

समुद्र माथि फुटबल मैदान बनाएको मेरो अनुभवले
हुम्ला , जुम्ला , दार्चुलामा
जता हेर्यो उतै समथर देख्ने
ठुला ठुला फाँट बनाइदिन्छु

दर्शन ढुंगासंगै लडिबुडी खेल्दै आएको
पवित्र जलामृत पिएर बनेको
मेरो बलिष्ठ पाखुराहरुले

कोदालीलाई धनुष बनाएर
बेल्चालाई वाण मानेर
छोडेको मेरो अर्जुन वाणले
ब्रह्मालाई बन्दी बनाएर

उसले सारा जगतलाई बनाएको योजनाहरू
मेरो देशमा खन्याइदिन्छु

सरकार

मेरो क्षमतालाई अवसर दिएर त हेर
आगोको भुग्रो सरी ति मरुभूमिमा
कोशी सरी पसिना बगाएर

सुन्दर बगैचा बनाएको मेरो अनुभवले
फुस्स फुस्स धुलो उडीरहने
हाम्रो ति फुस्रे डाँडाहरुमा
अमर सिंहको निशानी

लाली गुराँस जस्तो मेरो रातो रगतले सिंचेर
सारा हराभरा बनाइदिन्छु
साउदी दुवहीमा दुई सय तिन सय तला अग्लो
घर बनाएको मेरो अनुभवले

चन्द्रमाबाट मात्र होइन
यम ग्रहबाट टक्लक टक्लक देख्ने
गगन चम्बी घर बनाइदिन्छु

अमेरिकाको वैज्ञानिक प्रयोगशालामा
सहयोगीको भुमिकामा काम गरेको मेरो अनुभवले
दुर्विन बनाएर

राणाकालीन समयमा जस्तो
काठमाडौँको खाल्डोमा बसेर
सुदुर पश्चिमको थारु दाई
के गरिरा’छ हेर्न मिल्ने उपकरण बनाइदिन्छु

म मेरो मधेसको गर्मी टिपेर
हिउँले भरिएको हिमालयलाई सेकेर
अथाह जल निकालेर
जलबाट टर्वाइन घुमाएर

लाखौँ लाख मेघावाट विद्युत् निकालेर
दिन रातै झलमल बनाएर
भोलि मेरो सन्ततीलाई
” बाबा अँध्यारो भनेको के हो ?” भनी सोध्न विवश बनाइदिन्छु

बुढो जेठको लमतन्न खडेरीले
झुप्लुक झुप्लुक हुँदै मरौँ कि बाँचौँ भइरहेको
मेरो बारीको मकैलाई
मेरो देशको राष्ट्रिय झन्डामा पोतेर बाँकी रहेको

मेरो रगतले सिंचेर
असिमित अन्न उब्जाएर
कुवेरको भन्डारलाई झिनो बनाइदिन्छु
म मैले जानेको वैज्ञानिक बिधी प्रयोग गरेर

बेली , चमेली , लालुपाते , सुनाखरीलाई
कहिले चैत्रमा मौलाउने चिलाउनेमा जोडेर त
कहिले जेठमा मौलाउने बोट धँयरोमा जोडेर
मेरो देशलाई पुष्पमय बनाइदिन्छु

स्वर्गलाई पनि फिका फिका बनाइदिन्छु
सूर्योदयको पहिलो किरण संगै
सगरमाथाको शीरमा फल्ने हिरा टिपेर
मेरो देशको कार्यकारी प्रमुख निकाय

सिंह दरवारको शीर सजाइदिन्छु
सरकार मात्र एकपटक
युवाहरूलाई प्रयोग गरेर त हेर
मेरो क्षमतालाई अवसर दिएर त हेर

प्रकाशित मिती २०७६ असाेज ३ गते

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार