• २०८१ असोज २० गते आइतवार
  • Preeti To Unicode

म्याराथनमा फक्रिएकी सल्यानकी पुष्पा


Author Logo..
पत्रपत्रिका

माघ १०,  काठमाडौँ ।

दस वर्षअघि सुदूरपश्चिममा छैटौं राष्ट्रिय खेलकुदअन्तर्गत धनगढी रंगशालामा म्याराथन आयोजना हुँदै थियो । सुरुआती विन्दुमा उभिएकीमध्ये एक थिइन्, सल्यानकी १५ वर्षीया पुष्पा भण्डारी ।

दौड सुरु हुनै लागेको थियो, ‘फुच्ची’ खेलाडीलाई देखेपछि छेउमा उभिएका एकजनाको मुखबाट फुस्कियो, ‘यो नानीले म्याराथन पूरा गरिन् भने म सधैंका लागि खाना छाडिदिन्छु ।’

बाल मष्तिस्कमा त्यो अप्रत्याशित प्रतिक्रियाले ठूलो छाप पर्‍यो । ४२.१९५ किलोमिटरभर एउटैमात्र कुराले उनलाई ऊर्जा दिन्थ्यो भने त्यही नमीठो वाक्य थियो । ती मानिसलाई के थाहा, सल्यानको पहाडी हावापानीले उनलाई १५ वर्षमै एक च्याम्पियन बनाइसकेको थियो भनेर । दौड पूरामात्र होइन, उनले रजत पदक नै जितिन् ।

दोस्रो भएपछि आफूलाई ‘वचन’ लगाउने ती मानिस यताउता खोजिन् तर, भेटिनन् । ‘त्यो मान्छे को थियो अहिलेसम्म पत्ता लागेको छैन तर त्यो बोली म सायद जीवनमा कहिल्यै बिर्सिन्न,’ पुष्पाले स्मरण गरिन् ।

साढे ४ फिट उचाइकी १५ वर्षीया किशोरीले राष्ट्रिय प्रतियोगितामा एथलेटिक्सकै सबैभन्दा कठिन विधा म्याराथनमा कसरी पुगिन् ? यहाँ अर्को रोचक घटना छ । छैटौं राष्ट्रिय खेलकुदका लागि एथलेटिक्स प्रशिक्षक स्वर्गीय रविनकुमार राई गाउँगाउँमा प्रतिभाको खोजीमा थिए ।

हालको शारदा नगरपालिका–१४ माल्नेटास्थित स्कुलका शिक्षकहरूले पुष्पाको नाम सिफारिस गरिदिए । किनभने शुक्रबारे खेलकुदमा पुष्पाले १० कक्षाका दिदीहरूलाई पनि हराउँथिन्, जतिबेला उनी ७ कक्षामा अध्ययनरत थिइन् ।

१० वर्षे करिअरमा पुष्पाका उपलब्धि

२०६८ : छैटौं राष्ट्रिय खेलकुद, उपविजेता

२०६९ : लुम्बिनी च्याम्पियनसिप– विजेता

२०७३ : सातौं राष्ट्रिय खेलकुद– विजेता

२०७६ : आठौं राष्ट्रिय खेलकुद– उपविजेता

२०७६ : १३ औं दक्षिण एसियाली खेलकुद– उपविजेता

२०७७ : ढाका म्याराथन– विजेता

गाउँबाट जिल्ला, जिल्लाबाट क्षेत्रीय छनोटमा उनको प्रदर्शन राम्रो रह्यो । छनोट प्रतियोगितामा उनले लामो दूरीमा राम्रो गर्नसक्ने छनक प्रशिक्षकलाई दिएकी थिइन् । ‘मैले तीन स्पर्धामा सहभागिता जनाएकी थिएँ । २ सय र ४ सय मिटर दौडमा दोस्रो भएँ तर ५ किलोमिटरमा पहिलो भएँ,’ पुष्पाले आफ्नो करिअरको सुरुआती दिन सम्झिइन्, ‘गुरुलाई म लामो दूरीमा दौडिन सक्छजस्तो लागेछ क्यारे म्याराथनमा दौडन्छौं त ? भनेर सोध्नुभयो । कति नै होला र भनेर मैले पनि हुन्छ भनिदिएँ । ४२ किलोमिटर हुन्छ भन्ने थाहा पाएको भए दौडिन्नथेँ ।’ उनले छैटौंमा ३ घण्टा २५ मिनेटको समय निकालेकी थिइन् ।

त्यतिबेलासम्म उनलाई लागेको थिएन कि ‘म एथलेटिक्स खेलाडी नै बन्नेछु ।’ बरु सोचेकी थिइन्, ‘खेल्ने, जे रिजल्ट आए पनि घर फर्कने ।’ छैटौंपछिका केही समयमा पढाइमा सदुपयोग गरिन् । २०६९ सालमा केही परिपक्व भनिन् र लुम्बिनी च्याम्पियनसिपमा सहभागिता जनाइन् र उपाधि जितिन् । यो उनका लागि करिअरको निर्णायक क्षण रह्यो । ‘लुम्बिनी च्याम्पियनसिपपछि म खेलाडी बन्नसक्छु भन्ने आत्मविश्वास बढ्यो । एथलेटिक्स परिवारभित्र सबैले चिन्न थाल्नुभयो र मैले विभागीय जागिर पनि पाएँ । अब म एक व्यावसायिक खेलाडी बनें,’ पुष्पा भन्छिन् ।

उनै पुष्पाले हालै आफ्नो व्यावसायिक करिअरको सबैभन्दा ठूलो उपलब्धि हासिल गरिन् ढाकामा । उनले बंगलादेशका सर्वोच्च नेता शेख मुजिबउर रहमानको जन्म शतवार्षिकीको उपलक्ष्यमा आयोजित प्रथम ढाका म्याराथनको दक्षिण एसियाली स्पर्धामा स्वर्ण जितिन् । भारतीय धाविकाहरूलाई पछि पार्दै पहिलो भएकी पुष्पाले आफूलाई पुनः एकपल्ट प्रमाणित गरेकी छन् । ऐतिहासिक उपाधि र ५ लाख टाका पुरस्कार जिते पनि उनी खुसी छैनन्, किनभने उनको टाइमिङ बिग्रियो ।

***

‘बंगलादेशका लागि हाम्रो तयारी जम्माजम्मी एक महिनाको हो । कोरोना महामारीका कारण लामो समयदेखि प्रशिक्षण थिएन । एकमहिने तयारी, नयाँ कोर्स र बंगलादेशको मौसमले केही अप्ठ्यारो भयो,’ पुष्पाले सुनाइन् । म्याराथन ‘लुप कोर्स’मा खेलाइएको थियो । निश्चित दूरीको एउटै ट्र्याकमा धेरैपल्ट फन्को लगाउनुपर्दा टाइमिङमा समस्या भएको प्रशिक्षक धनीराम चौधरीले नै स्विकारेका थिए । उनले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डको टाइमिङ निकालेकी थिइन् ।

***

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्यो । स्वर्णको चर्चा जताततै भयो । रजत जितेकी पुष्पाको पनि ऐतिहासिक पदक थियो । नेपालमा महिला म्याराथनबाट अन्तर्राष्ट्रिय पदक जित्ने उनी पहिलो खेलाडी थिइन् । मध्य मंसिरको चिसो मौसममा उनले २ घन्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । ढाका म्याराथनको उपाधि पनि त्यस्तै ऐतिहासिक रह्यो । नेपाली महिला धाविकाले म्याराथनमा जितेको त्यो अहिलेसम्मकै सबैभन्दा ठूलो र पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

***

४ फिट ११ इन्चकी पुष्पालाई विभागीय टिम एपीएफ क्लबले अनुबन्ध गर्नुको कारण पनि त्यही हो कि उनले आफ्नो उचाइभन्दा कयौं गुणा उच्च प्रदर्शन गरिरहेकी थिइन् । लामो दूरीमा उनको गज्जबको प्रदर्शन छ । साथै एपीएफप्रति पनि उनी ऋणी छन् ।

‘एपीएफले मलाई काठमाडौंमा बास दिएको छ । मेरो सफलता/असफलतामा सहयोग गरेको छ । वास्तवमा खेलाडी भनेको के हो ? उसको प्रशिक्षण कस्तो हुनुपर्छ, खानपान कस्तो हुनुपर्छ भन्ने कुरा मैले यहीं आएर सिकेकी हुँ,’ उनले थपिन्, ‘मैले २०७० मा करारमा नियुक्ति लिएको थिएँ । पछि एकपल्ट एपीएफका सबै खेलाडीको करारमुक्त गरिएको थियो । त्यतिबेला मलाई सरहरूले यहाँको सञ्चार मेसमा खाने व्यवस्था मिलाइदिनुभएको थियो । त्यो नपाएको भए म घर फर्कनुपर्ने हुन्थ्यो ।’

एपीएफको अनुबन्धपछि बल्ल पुष्पाले एथलेटिक्स र म्याराथनबारे बुझ्न थालिन् । दौडनका लागि राम्रो ट्र्याकसुट र स्पाइक पाइन् । तीन वर्षको तयारीपछि २०७३ मा इटहरीमा आयोजित सातौं राष्ट्रिय खेलकुदमा उनले म्याराथनमा स्वर्ण जितेर विभागको विश्वास जितिन् । त्यसको दुई वर्षपछि दाङको बेलझुन्डी रंगशालामा आयोजित आठौं राष्ट्रिय खेलकुदमा उनी रजतमै सीमित भइन् । आफ्नै क्षेत्रमा स्वर्ण जित्ने उनको सपना साकार हुन नपाउँदा खिन्न थिइन् । ‘त्यहाँ मेरो आफन्तहरू पनि हेर्न आउनुभएको थियो । १३ औं सागको छनोट भएकाले स्वर्ण जित्ने मेरो लक्ष्य थियो, सफल भइएन,’ पुष्पाले खिन्नता सुनाइन् ।

***

पुष्पाको करिअरले गति लिइसकेको छ । उनी करिअरकै उच्च लयमा छिन् । ओलम्पिक खेल्ने अबको लक्ष्य हो । त्यसअघि उनले एउटा अठोट लिएकी छन् । ‘हाम्रो देशमा म्याराथन दौडिने पुरुष र महिला धावकले समय अन्तर ३५ मिनेटभन्दा बढी छ । मेरो लक्ष्य त्यो अन्तर कम गराउनु हो,’ पुष्पाले म्याराथनमा आफ्नो टाइमिङमा अझै १० मिनेट सुधारको प्रयत्न गर्ने बताइन् । प्रधानसेनापति म्याराथन, नेपालगन्ज म्याराथनलगायतका प्रतियोगितामा हाफ म्याराथनको उपाधि जितेकी पुष्पाले कान्तिपुर हाफ म्याराथनको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेको छैन । उनको अठोट छ, ‘त्यो छिट्टै पूरा हुनेछ ।’

खर्चिलो खेल भएकाले निम्न आर्थिक अवस्थाका खेलाडीले एथलेटिक्स खेल्ने सपना देख्नु अभिसाप हुने उनको अनुभव छ । प्रतिभाको संरक्षणमा सरकार नै लाग्नुपर्ने आवश्यकता उनले पनि महसुस गरेकी छन् । ‘दौड्दा लगाउने जुत्ताको स्तरले टाइमिङमा धेरै असर गर्दोरहेछ भनेर मैले पछि मात्र बुझें । सुरुमै बुझेकी भए पनि म जुत्ता किन्न सक्ने हैसियतमा थिइनँ,’ संघर्षका दिनबारे स्मरण गर्दै पुष्पाले भनिन्, ‘विभागमा अनुबन्ध भएपछि मात्रै मलाई केही सहज भएको हो । हाम्रो देशमा थुप्रै प्रतिभाले आर्थिक अवस्थाकै कारण खेल छाड्नुपरेको देखेको छु । खेलकुद सबै नागरिकलाई अहिलेसम्म सर्वसुलभ भएको छैन ।’

छैटौं राष्ट्रिय खेलकुदबाट करिअर सुरु गरेकी २५ वर्षीया पुष्पा परिवारको छैटौं सदस्य हुन् । अर्थात्, ३ दाजु र २ दिदीकी कान्छी । सुरुमा दाइको पछि लागेर कराते खेल्न थालेकी पुष्पालाई परिवारले रोकेको थियो । एथलेटिक्स खेलाडी बनेर एपीएफमा अनुबन्ध भएपछि हो । आमाबुबाले छोरी खेलाडी बनेकामा बल्ल गर्व गर्न थालेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय सफलता र चर्चापछि अहिले उनी आफ्नो ठाउँमा प्रेरक बनेकी छन् ।

पुष्पाको सफलताले सल्यानले मात्र होइन, पूरा देशले गर्व गरेको छ । खेलप्रति कम्तीमा आफ्नो ठाउँका मान्छेको धारणा परिवर्तन गर्न सकेकामा पुष्पा सन्तुष्ट छिन् । छोरीको नामबाट परिचित हुन पाउनु हरेक आमाबाबुका लागि प्रतिष्ठा बन्दा उनी गौरवान्वित छन् ।

कान्तिपुरबाट

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार