फागुन २४, काठमाडाैं ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको नाममा भएको फैसला गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपालाई पुरानै अवस्थामा फर्काइदिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ ।
सर्वोच्चले नेकपाको एकीकरण नै खारेज गरेर पूर्वएमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ । सर्वोच्च अदालतले आइतबार यस्तो फैसला गर्दा यी नाममा निर्वाचन आयोगमा अर्कै व्यक्तिका नाममा पार्टी दर्ता भइसकेका थिए । सन्ध्या तिवारीका नाममा नेकपा (एमाले) र गोपाल किराँतीको नाममा माओवादी केन्द्र आयोगमा दर्ता छन्।
किराँतीले २०७६ असोजमा गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह राखेर पार्टी दर्ता गरेका थिए भने तिवारीले २०७७ असारमा पहाडबाट उदाउँदै गरेको सूर्य चुनाव चिन्ह राखेर दर्ता गरेकी थिइन्।
तिवारीले एमाले दर्ता गर्न लागेका बेला प्रचण्डले नेकपा सचिवालय बैठकमै प्रधानमन्त्री ओलीले उक्त पार्टी आयोगमा दर्ता गर्न लगाएको आरोपसमेत लगाएका थिए।
सर्वोच्चको फैसलापछि तिवारी र किराँतीका पार्टीलाई निर्वाचन आयोगले मंगलबार पत्र पठाउन लागेको छ । सर्वोच्चले ती नाममा पुरानै पार्टीलाई ब्युँताइदिएको पत्र प्राप्त भएकोले त्यसबारे आयोगले किराँती र तिवारीलाई जानकारी दिँदै नाम र चुनाव चिन्ह परिवर्तन गर्नेबारे जानकारी दिन लागेको हो ।
तिवारी नेतृत्वको एमालेका महासचिव मनिष उपाध्यायले निर्वाचन आयोगले पार्टीलाई पत्र पठाउनेबारे जानकारी सञ्चारमाध्यमहरूबाट पाएको बताए ।
‘मलगायत साथीहरू पार्टीकै कामले उपत्यकाबाहिर छौं। निर्वाचन आयोगले पार्टीलाई पत्र पठाउने तयारी गरेको भन्ने समाचार पढेँ । पत्र हेरेपछि पार्टीले आवश्यक निर्णय लिन्छ,’ उनले भने, ‘पर्सि हाम्रो पार्टीको केन्द्रीय समिति बैठक बस्ने तयारी पनि छ।’
उनले नेकपा नामबारे सर्वोच्चले आइतबार गरेको फैसलालाई भने मान्दिनँ भन्न नमिल्ने बताएका छन्। ‘अदालतले गरेको निर्णय मान्दिनँ भन्न त मिलेन। मान्नैपर्यो,’ उनले भने, ‘निर्वाचन आयोगले के पत्र पठाउँछ, त्यसको विषयवस्तु हेरेर आवश्यक कदम चाल्छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले माग गरे एमाले पार्टी दिन तयार हो भन्ने प्रश्नमा उनले त्यसबारे अहिले नै पार्टीका तर्फबाट आफूले भन्न नमिल्ने उल्लेख गरेका छन् ।
‘त्यो दोस्रो पाटोको कुरा हो । अप्ठ्यारो परेपछि उनीहरू आउलान्/नआउलान् यो भन्न नसकिने कुरा हो। उहाँहरू अर्को नयाँ पार्टी खोलेर जान पनि सक्नुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म वार्ता भएको छैन । पार्टीको आधिकारिक निर्णय नभईकन कसरी मैले भन्ने ?’
उनले निर्वाचन आयोगले यसअघि सबै प्रक्रिया पुर्याएर नेकपा (एमाले) नामको पार्टी दर्ता गरिदिएको पनि बताए । अहिले प्रक्रिया मिलेन वा नाम फेर्न भन्न आयोगले नमिल्ने तर्क उनले गरेका छन्।
‘सर्वोच्च फैसला न्यायपूर्ण नै मान्नुपर्यो । त्यसमाथि जाने ठाउँ भएन,’ उनले भने, ‘निर्वाचन आयोगले के गर्छ, हामीलाई वैधानिक तरिकाले पार्टी दर्ता गरेको हो। सबै प्रक्रिया पूरा गरेर दिएको हो । अहिले आएर प्रक्रिया पुगेन भन्नु र अर्को दर्ता गर्नु भन्नु त त्यसबेला त्यो नाम किन दिएको भन्ने विवाद त भइहाल्छ ।’
उनले पार्टीका केन्द्रीय सदस्यहरू र कानुनी सल्लाहकारहरूसँग आवश्यक छलफलपछि मात्रै अब कसरी अघि बढ्ने भन्नेबारे निर्णय हुने जानकारी दिए।
उनकाअनुसार अध्यक्ष तिवारी भने उपचारका लागि अहिले भारतमा छन् । ‘उहाँ बाहिर हुनुहुन्छ। टेलिफोनमा त कुरा भइरहेकै छ,’ उनले भने, ‘उहाँ आउनुहुन्छ अनि यसबारे निर्णय गर्छौं ।’
सेताेपाटीबाट