• २०८१ फाल्गुन ६ गते मङ्गलवार
  • Preeti To Unicode

कृष्णप्रसाद सिटौला देखि कमल थापासम्मलाई हराएका राजेन्द्र लिङ्देनको जीवनी


मंसिर १९, सल्यान ।

राप्रपाको अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको जन्म२०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । उनको पुर्ख्यौली घर भने पाँचथर हो । उनका बुबा प्रहरी सेवामा कार्यरत भएकाले ढुँगेसाँघु ताप्लेजुङमा उनको जन्म हुन पुग्यो ।

उनको जन्म ताप्लेजुङ र पुर्ख्यौली गाउँ पाँचथर भएपनि उनको कर्मभूमि भने झापा भयो । उनको राजनीतिको विजारोपण पनि झापाबाटै भएको थियो ।

उनी ताप्लेजुङमा जन्मिनु र झापाबाट राजनीति गर्नु उनको संयोगमात्रै बन्यो किनकी उनले राजावादी पार्टी राप्रपाबाट राजनीति गरे । अझ भनौँ कम्युनिष्टको त्यत्रो क्याम्प झापामा उनलाई त्यसको प्रभाव परेन ।

२०३६ सालमामा सानो उमेरबाटै राजनीतिमा होमिएका राजेन्द्र लिङ्देन झापामा विद्यार्थी कालबाटै चर्चित थिए । उनी त्यो बेला राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा अबद्ध भए।

पहिलेबाटै उनका राजनीतिक नेता भने कमल थापा नै थिए । किनकी उनी राजनीतिमा प्रवेश गर्दै गर्दा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष कमल थापा हुन् । पछि उनी आबद्ध विद्यार्थी संगठन विघटन भयो ।

त्यसपछि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बनाइएको थियो, जसको संस्थापक अध्यक्ष नै लिङ्देन बने । त्यसपछि लिङ्देन २०४९ सालको स्थानीय निर्वाचनमा झापाको गोलधापमा वडाध्यक्ष निर्वाचित भएका थिए । उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा पुन: निर्वाचित भए ।

लिङ्देन त्यसअघि २०४७ सालमै झापा राप्रपाको पार्टी सचिव भइसकेका थिए । त्यसैकाे हैसियतमा वडाध्यक्ष निर्वाचित भए । उनी  २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमासमते बनेका लिङदेन २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नं ३ मा पराजित भएका थिए । त्यो बेला उनले तेश्रो स्थानको मत पाएका थिए ।

त्यसपछि २०६६ सालमा लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका थिए । २०७० मा लिङ्देन राप्रपाको महामन्त्री बनेका थिए ।

त्यस्तै लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजित हुनुपरेको थियो । त्यो बेला पनि उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भएका थिए ।

त्यसपछि उनी २०७४ को निर्वाचनमा विजयी हुँदै राप्रपाको संसदमा साख जोगाउन सफल बनेका थिए ।  त्यो बेला भने उनले काँग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गरेका थिए । उनले ४४ हजार ६१४ मत प्राप्त गरेका थिए ।

उनी आदिवासी लिम्बू जातिका भएपनि जातिय आरक्षणको बिरोधी नेताका रूपमा चिनिदै आएका छन् । पढाइमा अब्बल लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार