• २०८१ फाल्गुन ६ गते मङ्गलवार
  • Preeti To Unicode

छत्रेश्वरी गाउँपालिकामा कांग्रेसको आधिकारिक भन्दा बागी टिम बलियो


वैशाख १३, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा कांग्रेसको दुईवटा टिमले उम्मेदवारी दिएको छ ।

कांग्रेसका जिल्ला सभापति केश बहादुर विष्टको नेतृत्वमा कांग्रेसको आधिकारिक टिमले उम्मेदवारी दिएको छ भने दिल्ली प्रसाद जैशीको नेतृत्वमा स्वतन्त्र टिमले उम्मेदवारी दिएको छ ।

स्वतन्त्र उम्मेदवारी दिने टिम कांग्रेस भित्र टिकट नपाएको रुष्ट टिम हो । तर यो टिम आधिकारिक टिम भन्दा बलियो देखिएको छ ।

यसअघि छत्रेश्वरी गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि पार्टीको गाउँ कमिटीबाट ८ जनाको नाम सिफारिस भएको थियोे । जसमा अहिले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउने दिल्ली प्रसाद जैश सहित कांग्रेसका प्रदेश कमिटी सदस्य केबी भण्डारी, बहालवाला गाउँपालिका उपाध्यक्ष तथा पार्टी गाउँपालिका अध्यक्ष सीता केसी, वडा अध्यक्ष मेघराज भण्डारी, नेताहरु दिपक चन्द, लोकराज आचार्य, वेद बहादुर विष्ट र सन्तोषसेन ओली थिए ।

तर सिफारिस नै नभएका केश बहादुर विष्टले एक्कासी टिकट ल्याएको भन्दै जैशी समुह रुष्ट बनेर स्वतन्त्र उम्मेदवारी दिएको हो । उम्मेदवारी दर्तापछि जैशीले भने, ‘मलाई अध्यक्षका आकंक्षी अन्य ७ जनाको साथ छ । वडाहरुमा पनि हाम्रो बलियो टिम बनेको छ । हामी ढुक्कसँग चुनाव जित्छौं ।’

पार्टी सभापतिले पहिला आफू चुनाव लड्दिन भनेको र पछि आफुहरुले महोल बनाएपछि एक्कासी टिकट ल्याएको जैशीले बताए । आफुले अब उम्मेदवारी फिर्ता नलिने र गाउँगाउँमा गएर भोट माग्ने उनले बताए ।

स्वतन्त्र टिमबाट उपाध्यक्षमा मेघराज भण्डारीले उम्मेदवारी दिएका छन् । उनी यसअघि अध्यक्षको लागि गाउँपालिकाको पार्टी समितिबाट सिफारिस भएका थिए । उनी वडा नम्बर ७ का वडाध्यक्ष समेत हुन् ।

स्वतन्त्र उम्मेदवारी दिनेहरुमा वडा न.१ को अध्यक्षमा शिव कुमार शर्मा, वडा न. ४ मा महोन डिसी र वडा नं. ७ को अध्यक्षमा सुक लाल खड्का रहेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १३ गते मङ्गलवार