
कर्णाली प्रदेश अन्तरगत सल्यान जिल्लामा पर्ने शारदा नगरपालिका सल्यान जिल्लाको पहिलो नगरपालिका हो । २०७१ बैशाख २५ गते तत्कालिन खलंगा, मार्के, हिवल्चा, कजेरी, सेजुवालटाकुरा, स्यानीखाल र डाँडागाउँलाई मिलाएर शारदा नगरपालिका स्थापना गरिएको हो । यस नगरपालिकामा भएर बग्ने शारदा नदिको नामबाट शारदा नगरपालिकाको नामाकरण गरिएको हो ।

शारदा नदि
शारदा नदि शारदा नगरपालिकाको मात्र नभई सल्यान जिल्लाको पनि प्रमुख नदीको रुपमा मानिन्छ । बागचौर नगरपालिकाको शिवरथ लौराबाङबाट उत्पत्ती भई यो नदि जिल्ला भित्र सयौँ किलोमिटरको दुरी भएर बग्ने गर्दछ । शारदा नदि बागचौर नगरपालिका, शिद्दकुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र कालिमाटी गाउँपालिका हुँदै बग्दछ ।
यो नदि सल्यानको कालिमाटीमा दाङबाट आउने बबई नदि सँग मिसिन्छ । बबई नदि सँग मिसिएर सल्यानको भाग बग्दै बर्दियाबाट भारतमा पुग्छ । यसलाई भारतमा सयुर नदिको नामबाट चिनिन्छ । यो नदिले सल्यानका थुप्रै जमिनहरु सिचाँई गर्दछ भने निर्माण कार्यको लागी गिट्टी बालुवामा पनि मदत गरेको छ ।
शारदा नगरपालिकामा पर्ने खोलाहरुमा सुकेखोला, घट्टे खोला, डुर खोला, दह खोला, वाउन पधेरा खोला मालिके खोला, काउले खोला, सिस्नेरी खोला पर्दछन् ।

खैराबाङ मन्दिर
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । शारदा नगरपालिका वडा नम्बर ११ मा अवस्थित खैराबाङ मन्दिर साविकको हिवल्चा गाविसमा पर्दछ । यस मन्दिरमा सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भम्रण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने बाह्मण क्षेत्रीहरुले मन्दिर वरिपरि चण्डीपाठ गर्दछन् । खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (इष्र्या) त्याग्न देवीसँग माग गरिन्थ्यो ।
पौराणिककालबाट बलि दिने चलन सुरु भएको बताइन्छ । खैराबाङमा पञ्चबलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने गरिन्छ । वि.स. १४८० देखि मन्दिरमा पूजाआजा सुरु गरेको किम्बदन्तीमा उल्लेख छ ।

धार्मिक पर्यटनको धरोहर खैराबाङ भुवनेश्वरी मन्दिरमा दर्शन गर्न अर्घाखाँची, गुल्मी, बाग्लुङ, दाङ, रुकुम, रोल्पा, प्यूठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाण्डौं, ललितपुर, भक्तपुर लगाएत देशका विभिन्न भाग र भारतका विभिन्न स्थानबाट पनि दर्शन गर्न भक्तजनहरु आउने गर्दछन् ।
खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिणमा पर्दछ । मन्दिरमा पुग्नलाई चारैचिरबाट कच्चि रिङरोड बनाइएको छ । खैराबाङ पुग्न राप्ती राजमार्गमा पर्ने सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट ३० मिनेटको सवारी यात्रा तथा २ घण्टाको पैदल यात्रामार्फत सकिन्छ ।
त्यस्तै खैराबाङ मन्दिर पुग्नलाई सदरमुकाम खलंगाबाट साहुटोल, दुलधारा पोखरा, मार्के, मदना, हिवल्चा हुँदै पुग्न सकिन्छ । यो सडकमा सल्यानको पश्चिम क्षेत्रबाट आउनेहरुलाई सहज हुन्छ भने राप्ती राजमार्ग प्रयोग गर्नेहरुलाई श्रीनगरबाट सहज हुन्छ ।
शारदा नगरपालिकामा पर्ने अन्य मन्दिरमा राधाकृष्ण मन्दिर, धार्मिक, भद्रकाली मन्दिर, शिव गुफा मन्दिर, सरस्वती मन्दिर, शिव पार्वती मन्दिर, जानकी मन्दिर, कालिका थान मन्दिर, शिव पार्वती मन्दिर, प्राकृतिक गुफा मन्दिर रहेका छन् ।

हिम दृश्य पार्क
शारदा नगरपालिका वडा नम्वर ५ रानिकोटमा रहेको हिम दृश्य पार्क पछिल्लाे समय घुम्न लाएक ठाउँ बन्दै गएकाे छ । शारदा नगरपालिकाले यहाँ पर्यटकीय आर्कषणका लागी विभिन्न संरचनाहरु निर्माण गर्न थालेपछि अहिले यहाँ आन्तरिक पर्यटकहरुकाे गन्तव्यकाे राेजाइ बन्न थालेकाे हाे ।
पार्कमा निर्माण गरिएका विभिन्न संरचनाहरु पनि याे ठाउँलाइ आकर्षक बनाइरहेकाे छ । खुला आकाश मुनीकाे याे रमणिय ठाँउमा शनिवार र बिदाको दिनमा घुम्न आउनेहरुको संख्या बढ्दाे छ । सल्यानकाे सदरमुकाम खलंगाबाट नजिकै पर्ने ठाउँलाइ धेरैले रुचाउने गर्दछन् ।

माल्नेटाको अदुवा
अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यान माल्नेटाको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ ।
सल्यानका विभिन्न ठाउँमा अदुवा पाइने गर्दछ । त्यसमध्येको एक हो माल्नेटा । अदुवाको लागी माल्नेटा नेपालकै प्रमुख ठाउँ मानिन्छ । शारदा नगरपालिका १४ र १५ मा रहेको माल्नेटामा रेशाविहीन अदुवा पाइन्छ । यो पहिलेको डाँडागाउँ गा.वि.स अन्तरगत पर्दथ्यो ।
माल्नेटा राष्ट्रिय रुपमा अदुवा उत्पादनमा चर्चा पाएको गाउँको नाम हो । माल्नेटा ढारखानी क्षेत्रमा पाइने रेशाविहीन अदुवा एशियाकै उत्कृष्ट मानिन्छ । एसियामै रेशाविहीन अदुवा उत्पादनले माल्नेटा चिनिन्छ । यहाँको अदुवा देशका विभिन्न ठाउँ र विश्वका विभिन्न देशहरुका समेत पुग्ने गर्दछ । अदुवाबाट माल्नेटाबासीको जिवनस्थिर माथी उकासियको छ । यो चैत–बैशाखमा रोपिन्छ भने असोज–कात्तिकमा खनिन्छ ।

खलंगा
शारदा नगरपालिकामा पर्ने खलंगा सल्यान जिल्लाको सदरमुकाम हो । समुन्द्री सतहबाट करिब १५ सय मिटरको उचाईमा रहेको खलंगा जिल्लाको बीचभागमा पर्दछ ।
बाइसे चौबिसे राज्यमध्ये खलंगा पनि एक राज्य थियो । दुस्मनहरुले आक्रमण गर्न सक्ने भन्दै त्यसबेला राजाले खलंगा डाँडोमा आफ्नो राज्य बनाएका थिए । पछि नेपाल एकिकरण सँगै विभिन्न जिल्ला कायम गरेपछि खलंगा सल्यानको सदरमुकाम हुन पुग्यो । हाल खलंगा डाँडोको सबैभन्दा अग्लो भागमा जिल्ला प्रशासन कार्यालय रहेको छ ।

श्रीनगर बजार
शारदा नगरपालिका १ मा पर्ने श्रीनगर बजार सल्यान जिल्लाको मुख्य व्यापारिक केन्द्र हो । श्रीनगर बजार केन्द्रबिन्दु बनाएर सल्यान सँगै रोल्पा र रुकुमका नागरिकहरुले आवतजावत गर्ने गर्दछन् । श्रीनगर बजार शारदा नदिको सुन्दर पहिरणले प्रष्ठीत छ ।
प्राकृतिक रुपमा निकै सुन्दर, चारैतिर सुन्दर पहाडहरुले घेरेको, बिचमा शारदा नदि र त्यसैकाे बीचभमा अबस्थित छ श्रीनगर । यहाँ दिनप्रतिदिन झनै बजारीकरण हुदैछ ।
विद्यार्थी, किसान, मजदुर, कर्मचारी, व्यापारी, राजनीतिकर्मीहरुको मुख्य हब बन्दै गइरहेको श्रीनगरमा अहिले मान्छेको आवादि पनि निकै बाक्लो हुदै गएको छ । राप्ती राजमार्गमा पर्ने श्रीनगर बजार चार दशकभन्दा अगाडीबाट बसेको हो ।