भदाै २१, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस ८० सिटमा र माओवादीकाे ६० सिटमा कुरा मिल्ने बताएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अर्काे प्रतिकृया दिएका छन् ।
पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका हुन् ।
अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे । उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गरे ।
प्रचण्डले मंगलबार बिहान मात्रै कुल १६५ सिट मध्ये कांग्रेस ८० सिटकाे को वरिपरि र माओवादीकाे ६० सिटकाे वरिपरमा कुरा मिल्ने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले कार्यदलले आज साँझसम्म प्रतिवेदन बुझाउने र भोलि शीर्ष नेताको तहबाट अन्तिम रूप दिइने बताएका हुन्।
सिट, क्षेत्र र प्रदेश एकैसाथ टुङ्ग्याउने गरी सबै पार्टीका प्रतिनिधिहरू लागि परेको बताए। दलहरूमा आ-आफ्नो दाबी भए पनि सहमती नजिक पुगेको उल्लेख गरे ।