मंसिर १९, काठमाडौं ।
देशभर सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुनेमा यसपटक पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परेका छन् । ओलीले अघिल्लाे निर्वाचन २०७४ मा पनि देशभर सबैभन्दा बढी मत ल्याउनेमा परेका थिए ।
ओलीले यसपटक झापा ५ बाट ५२ हजार ३१९ मत ल्याएर चुनाव जिते । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो सर्वाधिक मतसहित चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । लामिछानेले ४९ हजार ३०० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८३ मत पाए । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाएका छन् ।
मोरङ-३ बाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले ४८ हजार ६३१ मत ल्याएर निर्वाचन जिते । रामेछापबाट विजयी भएका नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९९ मत ल्याएर विजयी भए ।
एमालेका गोकुलप्रसाद बाँस्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट ४५ हजार ३४५ मत ल्याएर विजयी भए । भक्तपुर-१ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ४२ हजार ७६१ मत ल्याए ।
नेपाली काँग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९९ मतसहित निर्वाचित भएका छन् भने एमालेका टोपबहादुर रायमाझीले ४२ हजार ७६५ ल्याएर विजयी भए । नेपाली काँग्रेसका पूर्णबहादुर खड्काले ४२ हजार ६०७, नेकपा माओवादी केन्द्रका वर्षमान पुन ४१ हजार ७१४, एमालेका सूर्यबहादुर थापाले ४१ हजार ११८, एमालेका भगवती चौधरीले ४० हजार ७८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले ४० हजार ६६२ मत ल्याएर विजयी भएका छन् ।