पुस ९, सल्यान ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै सुन्ताला उत्पादन हुने ठाउँमा पर्छ सल्यानको कोटमौला । बागचौर नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने कोटमौला भित्रका दर्जनौं गाउँ अहिले सुन्तलाले राताम्मे देखिन्छन् । यहाँका किसानलाई अहिले सुन्तला टिप्न भ्याईनभ्याई छ ।
झण्डै ५० वर्ष अघिदेखि सल्यानको काटमौलामा सुन्तला खेती सुरु भएको मानिन्छ । अहिले यहाँका दर्जन बढी गाउँमा व्यवसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ । व्यावसायिक सुन्तला उत्पादनले यहाँका किसानको जीनवस्तर नै फेरिएको छ । खेती विस्तारसँगै यहाँका बासिन्दाले गाउँमै रोजगारी पाएका छन् ।
सुन्तला खेतितर्फ किसानको आकर्षण बढे पनि एकीकृत बजार अभाव र रोग किरा नियन्त्रण नहुँदा आफुहरु हैरान भएकाे किसान देव बहादुर डाँगी बताउँछन् । सिट्रस ग्रिनिङ रोगका कारण उत्पादन घट्न थालेको उनकाे भनाइ छ । अर्कोतिर एकीकृत बजार अभावमा अधिकांश किसानले विचौलियाबाट ठगिनुपरेको उनले बताए ।
कोटमौलासँगै सल्यानका धेरैजसो पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुन्छ । यहाँबाट वर्षेनि आधा अर्ब रुपैयाँ बराबरको सुन्तला देशका प्रमुख सहर तथा भारतसम्म निर्यात हुने गरेको कृषि कार्यालयको रेकर्ड छ ।
सुन्तला उत्पादनलाई अझै आधुनिककरण गर्ने हो भने यहाँ मान्छेको आकर्षण बढ्ने देखिन्छ । स्थानीय सरकारले राम्रो प्रचारप्रचार गरे सुन्तलाबारीलाई कृषि पर्यटकीय गन्तव्यको ठाउँसमेत बनाउन सकिन्छ ।
सुरुमा सुन्तलाकाे बाेट राेप्दा गाउँलेहरू हाँसेका थिए
२०३० सालमा ४ ओटा बोटबाट स्थानीय सेर बहादुर डाँगीले सुन्तला खेती सुरु गरेका थिए । उनले सुन्तला खेति गर्दा सबै हाँसेका थिए । सुन्तलाबाटै जिवन स्थर चलाउछु भन्दा उनको कुरा अरुले हाँसोमा उडाउने गरेको उनका छोरा अंगेश्वरी डाँगी बताउछन् । बुबाको जिम्मा छोरामा आइसकेपछि अंगेश्वरले पनि सुन्तलालाई निरन्तरता दिए ।
उनले अहिले एक सिजनामा २० लाख भन्दा धेरै कमाउछन् । त्यसैगरी अर्का किसान भरत नाथ योगीले २०३८ सालमा सुन्तला रोप्दा उनको कुरा पनि हाँसोमय बन्यो । कतीले त गहुँ, मकै फल्ने बारी मास्यो भनेर पागल सम्म भनेर कुरा काटेको उनी सम्झन्छन् । तर पनि अठोरका साथ उनले १४ बर्षसम्म सुन्तलामै संघर्ष गरे ।
२०५२ सालमा कृषी कार्यालयका प्रमुख आएर कृषी समुह गठन गरेपछि बल्ल योगीको सुन्तलाले सार्थकता पाउन थाल्यो । हरेक घरले कम्तीमा ५० बोट सुन्तला लगाउनु पर्ने समुहले निर्णय गर्याे । योगी त सुन्तलाका अगुवा नै बने । उनले एक हजार ओटा सुन्तलाका बिरुवा लगाए ।
अहिले आएर उनले एक सिजनमा ३० लाख भन्दा बढीको आम्दानी सम्म गर्न थालेका छन् । सुन्तलाले नै आफ्नो जिवन स्थर बदलिएको उनी सुनाउछन् । अहिले उनको सबै बारीमा सुन्तलाका बिरुवा मात्रै छन् । उनी कोटमौलामा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने किसानमा पर्छन् ।
यी त कोटमौलामा अगुवा किसानका उदाहरण मात्रै हुन् । अहिले कोटमौलामा सुन्तलाबाटै जिवन स्थर उकास्नेको संख्या सयौँ पुगेको छ । यहाँ सुन्तला नरोप्ने घर नै छैनन् । सुन्तलाबाट कोटमौलाका नागरिकहरु स्वरोजगार हुन थालेका छन् भने कामदारको खोजी गर्छन् । यस क्षेत्रबाट वर्षेनी ३० करोड भन्दा धेरै मुल्यको सुन्तला निकासी हुँदै आएकाे छ ।
सुन्तला किन्न बगैचामै व्यापारी
यहाँका किसानहरु सुन्तला डोकोमा बोकेर बजार खोज्दै हिँड्नु पर्दैन, अहिले बगैंचामै आइपुग्ने व्यापारीले बजार र्पुयाइदिन्छन् । आँगनमै आम्दानी हातहातै पर्ने भएकाले किसान व्यावसायिक खेतीमा लागेका छन् । यहाँको सुन्तला सल्यानका विभिन्न बजार सँगै दाङ, नेपालगन्ज, कोहलपुर, बर्दिया बुटवल, काठमाण्डौँ, धनगढी, महेन्द्रनगर, दिपायल लगाएत भारतका केहि भागमा पुग्ने गर्दछ ।
सबैभन्दा धेरै यहाँको सुन्तला धनगढी बजारमा पुग्ने गरेको व्यापारीहरु बताउछन् । व्यापारीहरुले सुन्तलाको बोटमै गएर प्रतिकिलो ५० देखि ६० रुपैयाँ सम्म मुल्य दिने गरेका छन् ।
पाहुँनालाई सुन्तलाले स्वागत्
हरेक घरमा पुग्ने पाहुनालाई यहाँ बोटबाटै टिपेर सुन्तला थालीमा राखी स्वागत गर्ने गरिन्छ । सुन्तला खाना र फोटाहरु खिच्न यहाँ थुप्रै मानसहरु आउने गर्दछन् । सुन्तला नहुने गाउँका मानिसहरु यहाँ आफन्तको नातामा सुन्तलाको रौँनक हेर्न र खाना आउने गर्दछन् ।
फर्किदा सुन्तला कै कोसेली लिएर जाने गर्दछन् । रोल्पा सुकिदहका खेम बहादुर ओली डाँगीगाउँमा भेटिए– लेकाली अनलाइनसँग कुरा उनले भने– “मेरी बुहारीको माइत यहि हो, आफन्त सँग भेटघाट गर्न र सुन्तला हेर्नकै लागि आएको हुँ ।” यो मौसममा प्रचार प्रसार गर्न सकिए कृषि पर्यटन प्रबर्द्धन गर्न सकिने उनको भनाइ छ । कात्तिक महिना देखि पुस अन्तिमसम्म गाउँ नै पहेंलपुर देखिने गर्छ ।
गत अघिल्लो बर्ष तत्कालिन कृषिमन्त्री गौरीशंकर चौधरी र कृषि विभागका महानिर्देशक सहितको टोली यहाँ आएका थिए । तर त्यस क्रममा किसानले अगाडि सारेका कुनै पनि माग अहिलेसम्म पुरा नभएको किसानहरु बताउँछन् ।
पर्यटकीय गन्तव्य
कार्णली प्रदेशको राजधानी सुर्खेतबाट पुर्वमा पर्छ सल्यान सदरमुकाम खलंगा । खलंगाबाट करिब ४० किलोमिटर पुर्वी उत्तरी रोल्पाको सिमानामा रहेको छ काटमौला । प्रदेश नम्बर ५ को दाङ तुलसीपुरबाट पनि उत्तरी भागमा रहेको कोटमौला करिब ८५ किलोमिटरको दुरीमा पर्दछ । ८० किलोमिटरको दुरीमा रहेको राप्ती राजमार्गको थारमारे र बागचौरबाट स्थानीय शारदा खोला तरेर बागचौर कोटमौला रोल्पा सडकखण्डबाट ५ किलोमिटर पूर्व यात्रा गरेपछि कोटमौला पुगिन्छ ।
यहाँका डाँगीगाउँ लगाएतका गाउँहरु सुन्तलाको रुपमा परिचित छन् । यो गाउँ सुन्तलाको बगैचाले ढाकिएको छ । क्यारी मिलाएर लगाएका सुन्तलाका बोटहरु र कमेरो माटोले पोतिएका परम्परागत ढुंगे घरहरुका कारण यो गाउँ निकै आकर्षक मानिन्छ । यहाँ पुग्ने जो कोहिलाई पनि यस्तो दृश्यले मोहित पार्न गर्छ ।
घर नै ढाकिने गरि आँगनसम्म रोपिएका सुन्तलाका बोटमा लोभलाग्दा पहेँला दाना देखिन्छन् यो गाउँमा । कार्तिक महिनाको पहिलो हप्तादेखि पुसको अन्तिम सातासम्म यहाँ पुग्ने जो कोहि पनि दंग पर्ने गरेका छन् । यो क्षेत्रलाई प्रचारप्रसार गरे कृषी पर्यटनको राम्रो सम्भावना छ । सुन्तला अध्यागमनको लागी पनि विभिन्न जिल्लाबाट यहाँ मानिस उतार्न सकिन्छ ।
कर्मचारीदेखि नेता पनि सुन्तला खेतिमा
काेटमाैलामा विभिन्न ओहदाका व्यक्तीहरुले सुन्तला खेति गर्दै आएका छन् । यहाँ शिक्षक, निजामती कर्मचारी, स्वास्थ्यकर्मी सहित पार्टीका उच्च पदमा रहेका नेताहरू पनि सुन्तला खेतिमा लागेका छन् । त्यसैमध्येका एक उदाहरण बनेका छन् नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश समितिका सदस्य लोकबहादुर डाँगी ।
डाँगीले विगत नौ वर्षदेखि राजनीतिसँगै व्यावसायिक फलफूल खेती गर्दै आइरहेका छन् । नेकपा एमालेका पूर्वजिल्ला अध्यक्षसमेतको जिम्मेबारीमा रहेर काम गरिसकेका डाँगीले १६ रोपनी क्षेत्रफलमा सुन्तला खेती र नर्सरी गर्दै आइरहेका छन् । खोरबारेमा डाँगीले व्यावसायिक सुन्तलाखेतीसँगै नर्सरी व्यवसाय अघि बढाइरहेका छन् ।
विगतमा जस्तो पूर्णकालीन भएर राजनीति गर्ने अवस्था नभएकाले जीविकोपार्जनका लागि कृषि पेशामा आबद्ध भएको डाँगीको भनाइ छ। उनले भने पार्टीको जिम्मेवारीमा रहे पनि आवश्यक परेका बेला फर्ममा अरुलाई जिम्मामा दिएर कार्यक्षेत्रमा खट्ने र फुर्सदको बेलामा आफैँ काम गर्ने गरेको बताए । सुन्तलाबाटै ४० लाख कमाउने आस १६ रोपनी क्षेत्रफलमा झन्डै ६ सय भन्दा बढी सुन्तला रोपेका डाँगीले गएकाे सिजनमा मात्रै ४० हजार बढी कागतीका बिरुवा उत्पादन गरेका थिए ।
सडककाे समस्या
दाङको तुलसीपुरबाट रुकुम जोड्ने राप्ती राजमार्गको सल्यान बागचौरबाट कोटमौला हुँदै डाँगीगाउँ लगाएतका गाउँमा पुग्ने कच्ची बाटो छ । त्यस्तै खरीबोट बजारदेखि डाँगीगाउँ जाँन्छ, त्यहाँबाट पनि कच्ची सडक छ । बर्षेनी करोडौँको सुन्तला निर्यात हुने यो ठाउँमा पक्की सडक नहुँनु समस्या भएको यहाँका किसानको दुखेसो छ । यहाँको मुख्य सडक बागचौर–कोटमौला–पातिहाल्न सडक कालोपत्रे भए धेरै राहत हुने यहाँका नागरिकको भनाई छ ।
राज्यसँग किसानकाे गुनासो
सुन्तलामा लाग्ने रोग नियन्त्रण र सडक, विद्युत विस्तारको लागी पटकपटक सरकार सँग आग्रह गरेपनि कुनै सुनुवाई नभएको यहाँका नागरिकले गुनासो गरेका छन् । दुईवर्ष अघि तत्कालिन कृषी मन्त्री गौरीशंकर चौधरी सहितको टोली यो गाउँमा आउदा किसानहरु धेरै माग राखेको रत अहिले सम्म कुनै मागको सुनुवाई नभएको उनिहरु बताउछन् । यहाँको मुख्य माग भनेको सुन्तलामा लाग्ने रोग किरा नियन्त्रण हो । राष्ट्रिय समस्या बनेको ‘सिट्रस ग्रिनिङ पोजिटिभ’ भाइरस यहाँ पनि देखा पर्न थालेको छ, जसका कारण बोट पहेंलो हुँदै सुक्ने गर्छ ।
बेलाबेलामा असिनापानीले सुन्तलामा केही क्षति पुर्याउदा पनि किसानहरु निराश हुने गरेका छन् । यसलाई आफुहरुले रोक्न नसकेको उनिहरु बताउछन् । पटकपटक मिडियामा आफ्ना गुनासाहरु आएपनि राज्यपक्षले वास्ता नगरेको अगुवा किसान भरतनाथ योगी बताउछन् ।
‘कित राज्यले मिडिया नै हेर्दैन् ?’ भनेर उनले प्रश्न पनि गरेका छन् । उनि भन्छन्– “हाम्रा आवाज देश विदेशसम्मा पुगेपनि हामीसँगै रहेका वडा, नगर, जिल्ला र प्रदेशले सुनेका छैनन् ।” नेपालमा प्राविधिक नभए विदेशबाट ल्याएर भएपनि सुन्तलाको उपचार गर्नुपर्ने अन्यथा हजारभन्दा बढी घरका दशौँ हजार बासिन्दा प्रभावित हुने उनको गुनासो छ ।
सुन्तलाबाट भित्रने कराेडाैं रुपैयाँ कहाँ जान्छ
सुन्तला हुने काेटमाैलाका यी गाउँहरूमा वर्षेनी ३० कराेडभन्दा धेरै रकम भित्रने अनुमान गरिन्छ । सामान्य एक/दुइ लाख रूपैयाँदेखि यहाँका किसानले ३०/३५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्दछन् । तर अहिलेसम्म यति धेरै रकम कहाँ लगानी हुन्छ भनेर कुनै तथ्य समेत छैन् ।
मानिसहरूकाे आवश्यकता र विलासीपुर्ण जिवनले गर्दा पैसा बचाउन नसकिएकाे जानकारहरू बताउछन् । किसानहरूका अनुसार घरायसी खर्चमा धेरै पैसा सकिने गरेकाे छ । छाेारछाेरी पढाउनेदेखि विभिन्न घरखर्चमा यति धेरै पैसा खर्च हुने गरेकाे किसानकाे भनाइ छ । जसमा बचेकाे केहि पैसाले दाङ (सहर)तिर घर घडेरीहरू किन्ने गर्दछन् ।