• २०८१ कार्तिक २१ गते बुधवार
  • Preeti To Unicode

ओली भन्छन् ‘गृहमन्त्री रास्वपाले नै पाउँछ’, रबि भन्छन् ‘म अभिमन्यु होइन’


माघ १९, काठमाडाैं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति अनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने बताएका छन् । अहिले कुनैपनि कारणले सरकार संकटमा नपर्ने उनको भनाइ थियो ।

विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा उनले पूर्वसहमति अनुसार रास्वपालाई गृहमन्त्री नदिए विवाद हुनु स्वभाविक हुने तर त्यस्तो अवस्था नभएको बताए । ‘रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो,’ उनले भने, ‘रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई के को टाउको दुखाइ ।’

यस्तै, पूर्वसहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार सत्तापक्षको एमालेबाटै हुने बताए । उनले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाए । उनले कांग्रेसलाई गृह राज्यमन्त्री दिँदा पनि सरकारमा आउने आरोप लगाए ।

यसैबीच पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफू महाभारतको अभिमन्यु नभएको लेखेका छन्। उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजेका लागि बोलाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए । सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताए । यसरी नसकिने रहेछ भनेर पार्टीमा छलफल हुन लागेको उनले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएको पनि ढकालले बताए । त्यसैले अब नयाँ शिराबाट अगाडि जान लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार