• २०८१ बैशाख ९ गते आइतवार
  • Preeti To Unicode

जापान संसारकै सुरक्षित देश हो तर यहाँ नेपालीहरु नेपालीबाटै जोगिनुपर्छ


मिना खड्का

नेपाली समाजमा छोरीलाई दिइने महत्व हामीलाई थाहा नै छ। हाम्रो परिवार हामीलाई सीमित राख्न चाहन्छ। ठूलो सपना नदेखोस्, भविष्यका कुनै पनि योजना नबनाई मौनताको परिधिमा खुम्चिरहोस् भन्ने कामना गर्छ।

परिवार र समाजको संकुचित सोचलाई चिर्दै सपना देख्न आँट गर्ने र सपना पूरा गर्ने अठोटका साथ अगाडि बढ्ने छोरीको संख्या अझै कमै छ। नयाँ पुस्तामा आएको सचेतनाका कारण यसलाई थोरै चिर्न खोजिए पनि आफ्नै घर, समाज र देशमा रहँदा समेत मैले ओढेको आकास र टेकेको धर्ती नै मेरो होइन कि जस्तो लागिरह्यो। कहिल्यै कसैगरी आफ्नोपन महसुस हुन सकेन।

संकुचित सोच भएको परिवार वा समाजले छोरीको सपनालाई दिशाहीन यात्रामा परिणत गर्ने प्रयत्न सधैं गरिरहेको हुन्छ। यसको लामो अनुभव मैले गर्दै हिँडे। कयौँपटक मन भारी भयो। एकान्तमा एक्लै आँसु बगाएँ, हिसाब राखिनँ। बरु आफैँले आफैँलाई बलियो बनाएँ। लड्दै, उठ्दै दौडिरहेँ।

कयौँ रुढीग्रस्त सोच र गलत दृष्टिकोणको बेवास्ता गर्दै म अध्ययनको लागि जापान आएको झण्डै १ वर्ष पूरा हुदैछ। यो छोटो अवधिमा लामालामा अनुभव जम्मा भएका छन्।

घरको काममा अल्झाइ राख्ने, वस्तुभाउ हेर्न पठाउने, छिटै बिहे गरिदिनेजस्ता कयौँ बन्धन तोडेर म पढ्न र आर्थिक रुपमा समेत केही सक्षम हुनका निम्ति जापान आएकी छु भन्दा गर्वले त छाती फुल्छ। तर, यहाँ पनि उस्तै संकुचित सोच भएका नेपालीहरु देख्दा कहाली लाग्छ ।

यहाँ पनि नेपाली समुदाय छ। राम्रा मान्छे पनि नभएका होइनन्। तर उस्तै नेपाली संकुचित सोच र विचार बोकेर हिँडेका घिनलाग्दा अनुहारहरुको पनि बाक्लो उपस्थिति छ, जापानमा। एक वर्षको अवधिमा उनीहरूबाट सिकिएका उस्तै नरमाइला क्षण र अव्यक्त पीडाहरू मनमा गाँठो परेर बसिरहेका छन्।

अध्ययनका लागि जापान आएका सबैजसो विद्यार्थीले पार्टटाइम काम गर्न पाउँछन्। जापानको नियम अनुसार स्कुल जाने समयमा हप्ताको २८ घण्टा र स्कुल बिदाको समयमा हप्तामा ४० घण्टासम्म काम गर्न पाउने व्यवस्था छ।

नेपालका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरुले जापानमा पर्याप्त रोजगारीको अवसर रहेको भ्रमपूर्ण विज्ञापन र गलत परामर्श दिएर विद्यार्थीलाई जापान पठाउने गरेको र यहाँ आइसकेपछि भने सोचेको जस्तो केही नहुँदा निकै अप्ठ्यारो हुने अनुभव मजस्तै अधिकांश नेपाली विद्यार्थीको हो।

नेपालबाट आउँदा केही समयका लागि होस्टेल र स्कुलको पैसा लिएर आउनुपर्छ। तर विस्तारै कलेज फी आफैंले तिर्नुपर्ने हुन्छ। अधिकांश विद्यार्थी ऋण लिएर आएका हुन्छन्। नेपालबाट जापान आउँदा १० देखि १४ लाखसम्म खर्च गर्ने विद्यार्थीले जापान पुगेपछि भाषा पढ्ने स्कुललाई छुट्टै मासिक शुल्क तिर्नुपर्छ। त्यही शुल्क र बसाइ खर्च जुटाउन स्कुलले हप्ताको २८ घन्टा काम गर्न छुट दिने गरेको छ।

तर नेपालका कन्सल्टेन्सीले स्कुलले काम खोजिदिने र पूरा समय काम गर्न पाइने परामर्श दिन्छन्। मेरो अनुभव भने जापानमा कन्सल्टेन्सीले भनेको जस्तो सजिलो छैन। यहाँ सबै स्कुलले काम खोज्दैन। यदि कतै खोजिदियो नै भने पनि अन्तर्वार्ता दिन आफैँ जानुपर्छ।

जापान आइपुगेपछि भाषा राम्रो नभएकोले भनेको जस्तो काम नपाउनु, घरबाट तनाव दिनु, पढाइको दबाब र सोचेजस्तो जापान नहुनुको कारण विद्यार्थी डिप्रेसनमा जाने र आत्महत्या समेत गर्ने गरेका घटना नयाँ होइनन्। सुरुवाती अवस्थामा नयाँ आउने विद्यार्थीलाई केही भाषाको समस्या हुन्छ। सामान्यतया नेपालबाट भाषा नपढेर आउने नेपाली ‘विद्यार्थी कामदार’ ले समयमा काम नपाउँदा हैरानी खेप्नुपरेको सुन्नमा आउँछ।

सामान्यतया अन्तर्वार्तामा सोधिने प्रश्न बुझ्न नसक्नु र उत्तर बताउन सक्ने भाषा लेभल नभएको हुनाले काम नपाउने समस्या बढ्दो छ । विशेषगरी विद्यार्थी भिसामा जापान आउन लाग्नुभएका छोरीमान्छेले जान्नैपर्ने केही कुरा आज म बताउँछु।

जापान आउनुपूर्व नै यतिसम्म तयार हुनुपर्छ कि म एक्लै सबै गर्न सक्छु। यहाँ नेपालीहरूमा एकता छैन। मैले भियतनामी र पाकिस्तानीहरुमा जस्तो सर्कल र सहयोगीपन नेपालीमा देखेकी छैन। मलाई लाग्छ। अधिकांश नेपालीहरु निकै स्वार्थी पनि छन्। उनीहरू सेवाभावले सहयोग गर्दैनन्। तर म आफूलाई भाग्यमानी ठान्छु। सुरुवाती दिनमा मलाई रमा दिदीले धेरै कुरामा सघाउनु भएको छ।

तर मेरा केही केटी साथीहरूले चाहिँ केही मनै अमिलो बनाउने घटनाहरु मलाई सुनाएका थिए। आफूभन्दा केही वर्षअगाडि जापान आएकालाई ‘दाइ काम खोजिदिनु न’ भन्दा काम खोजिदिए बापत के दिन्छौ? जस्ता प्रश्न गर्ने गरेका र सोच्नसम्म नसक्ने निच प्रस्ताव गर्ने गरेको सुनेकी थिएँ।

सबै त होइन तर केही नेपालीहरुले जापान आएको केही समयमै आफ्नो सारा विगत र पृष्ठभूमि भुलेर बसेका हुन्छन्। त्यसैले कुनै पनि कामको लागि कसैलाई गुहार गर्न नपर्नेगरी आफू तयार हुनू।

जापान संसारकै सुरक्षित देशहरूमा पर्छ। यहाँ बच्नु पर्ने र सुरक्षित रहनुपर्ने नेपालीहरुबाट हो। नभए रातिको १२–१ बजे बाटोमा एक्लै हिँड्न पनि डराउनु पर्दैन। ढुक्कसँग हिँड्न सकिन्छ।
म फेरि पनि भन्छु, जापानी भाषा राम्रो बनाउनू। हामीले सुन्दर सपना देखेर अनि राम्रो निर्णय लिएर जापान आएका छौँ। कुनै पनि कुराको लोभ लालचमा फसेर आफ्नो इमान नबेच्नू।

प्रिय छोरीहरु! यहाँ आएपछि केहीले आर्थिक बाध्यताले लिभिङ टुगेदरमा बस्ने निर्णय गर्ने र पछि पछुताउने, जसका कारण डिप्रेसनमा जाने र कतिपय नेपाल समेत फर्किनुपरेका घटनाहरु सुनेकी छु। तपाईंहामी सक्षम छौँ। हिम्मतले बाँचौँ। जापानमा हाम्रो भविष्य निकै सुन्दर छ। यहाँको शिक्षा प्रणाली उत्कृष्ट छ। मेहनतीहरुका लागि काम र कामअनुसारको कमाइ छ। हामी आत्मनिर्भर बन्न जोड गर्नुपर्छ ।

कसैका मिठा आश्वासनमा कहिल्यै कसैगरी नचिप्लिनू। केवल आफ्नो क्षमतामाथि विश्वास गर्नू। जब जीवनमा संघर्ष गर्ने समय आउँछ, कहिल्यै नआत्तिनू। जापान हामी जस्ता सक्षम छोरीहरूको हो। जो कहिल्यै गलत गर्दैनन्। सही र गलत बुझेका छन्। अवसर र चुनौती दुवैसँग हातेमालो गर्न सक्छन्। पछाडि कहिल्यै फर्कंदैनन्। र, सधैँ अगाडि हेर्छन् ।

समाजले के भन्छ, समाजले के सोच्छ भन्ने नठानी आफ्ना इच्छा, चाहना र सपनाहरूलाई विश्वास गर्ने आँटिला छोरीहरुलाई धन्यवाद!

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार