सुर्खेत । शुक्रबार बालकुमारीमा ईपीएस कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवामध्ये एक थिए सुजन राउत । आन्दोलनमा सहभागी भएकै अवस्थामा मृत्यु भएका उनी घरको जेठो छोरा थिए
‘ब्रेन ट्युमर’का कारण सुजनका बुबा भक्तबहादुर रावतको गत वर्ष मृत्यु भएको थियो । त्यसपछि परिवारको सम्पूर्ण जिम्मेवारी २१ वर्षीय (प्रहरीले २३ वर्ष भनेपनि परिवारले २१ वर्ष भनेका छन्) सुजनको काँधमा आयो ।
बुबाको उपचारमा लागेको ऋण तिर्नका लागि धेरै कमाइ हुने ठाउँ जान चाहन्थे सुजन । बुबाको उपचारका लागेको ऋण तिरौँला, परिवारलाई खुसी राखौँला भन्ने सपना बोकेका सुजन आफ्नो बुबाको वर्ष दिनको काम सकेर कोरिया जाने तयारीमा लागे ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा महावु गाउँपालिका–६, का सुजन पनि मिसिएका थिए । आन्दोलनमा प्रहरीको निर्घात कुटपिटबाट उनी सडकमै ढले । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि किष्ट अस्पतालमा लगियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरे ।