• २०८१ माघ १० गते बिहिवार
  • Preeti To Unicode

भोट दिन जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्


लेकाली अनलाइन
मंसिर १०, काठमाण्डौँ ।
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव आज आइतबार र दोस्रो चरणको चुनाव २१ गते हुँदैछ । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा मतदान पनि सुरु भएको छ । धेरै मतदाताहरु कसरी भोट हाल्ने भनेर अलमलमा पनि छन् । मत बदर नहुने गरी यसरी भोट हाल्न सकिन्छ ।
– मतदानका लागि जाँदा निर्वाचन आयोगले दिएको परिचयपत्र वा अरु कुनै आधिकारिक प्रमाणपत्र लिएर जानुपर्छ । मतदान केन्द्रमा पुगेपछि कर्मचारीले परिचयपत्र रुजु गरेर नङमा कालो मसी लगाइदिन्छन् ।
– प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटा चुनाव एकैपटक हुने भएकाले दुवै तहका लागि प्रत्यक्ष र समानुपातिक गरी दुईदुई ठाउँमा छाप लगाउनुपर्छ । चुनावमा तीनवटा मतपत्रमा चार ठाउँमा छाप लगाउनु पर्छ । मतदान अधिकृतले सबैभन्दा पहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको हरियो रंगको मतपत्र दिनेछन् । त्यो मतपत्रमा स्वस्तिक छाप लगाएर मतपेटिकामा खसाल्नुपर्छ ।
– प्रतिनिसभाको लागि भोट खसालेपछि सँगै रहेका कर्मचारीले प्रदेशसभाको प्रत्यक्षतर्फको कालो रंगको मतपत्र दिनेछन् । त्यसलाई पनि छाप लगाएर काले रंगकै मतपेटिकामा खसाल्नु पर्छ ।
–प्रत्यक्षतर्फको भोट खसालेपछि समानुपातिकतर्फको हल्का रातो रंगको मतपत्र सँगै बसेका अर्का कर्मचारीले दिनेछन् । त्यसको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका लागि एक/एक वटा चिन्हमा मात्र छाप लगाउनुपर्छ ।
– मतदान गर्दा साना जस्ता लाग्ने धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । सावधानी नअपनाए मत बदर हुने वा आफूले मतदान गर्न चाहेको व्यक्तिले मत नपाउने खतरा पनि रहन्छ । त्यसका लागि कस्ता कस्ता कुरामा विचार पुर्‍याउने त ?
–मतपत्र पत्याउँदा मसी नलतपतिने गरी पट्याउनुपर्छ । मतपत्र लिएपछि सबैभन्दा पहिलो मतदान अधिकृतको हस्ताक्षर छ/छैन निश्चित गर्नुपर्छि । हस्ताक्षर नभएको मतपत्रमा मतदान गरे बदर हुन्छ ।ड्ड मतदान गर्दा स्वतस्तिक छाप मात्र प्रयोग गर्नुपर्छ । औंला वा अरु कुनै वस्तुले मतदान गरे खेर जान्छ ।
– एउटा मतपत्रमा एक मात्र चिन्हमा स्वस्तिक छाप लगाउनुपर्छ । एकभन्दा बढी छाप लगाएमा मत बदर हुन्छ ।
–स्वस्तिक छाप लगाउँदा लतपतिने/नबुझिने गरी लगाउनु हुन्न । चिन्ह भएको कोठाभन्दा बाहिर वा दुईवटा चिन्हको बीचमा पर्ने गरी छाप लगाइयो भने पनि मत खेर जान्छ । – मतपत्रलाई मसी नलतपतिने गरी पट्याएर बाकसमा खसाउनुपर्छ ।

– उज्यालाे अनलाइन 

 

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार